प्रतिभा नचिन्ने शासक

जनता निराश छन् । संविधान वा गणतन्त्रको कारणले होइन, सरकारको कारणले ।
राजावादीको हालको जुलुस र घटना पनिसंविधान र गणतन्त्रको कारणले होइन । सरकारको अक्षमताका कारणले हो ।
प्राधिकरण तथा कर्पोरेसन गठनको उद्देश्य कुलमानजस्ता ‘ट्यालेन्ट’ व्यक्ति खोजीखोजी नियुक्ति गरेर सञ्चालन गर्ने हो

ग्रीक दार्शनिक एरिसटोटलले चित्रित गरेको ‘संविधान सिद्धिने’ अवस्था र नेपालमा चर्चित ‘सतीले सरापेको’ भन्ने वाक्यांश मिल्दाजुल्दा छन् । एरिसटोटलले ‘द पोलिटिक्स’ को खण्ड ४ मा ‘होयर ल डज नट रुल दियर इज नो कन्स्टिच्युसन’ भनेका थिए । नेपालमा त्यही भइरहेछ । संविधान पालना हुँदैन । कानुन लागू हुँदैन । सरकार नै संविधान मिचेर बनेको छ । संविधान कागजको खोस्टो बनाइएको छ । सरकारको चौतर्फी विरोध छ ।

सतीले नेपालमा कसैको पनि विवेक नहोस् भन्ने सराप दिएकी थिइन् भनिन्छ । त्यो पनि मिलेको छ । कुलमान घिसिङ प्रतिभाशाली थिए । तर प्रतिभा (ट्यालेन्ट) को कदर भएन । प्रधानमन्त्री र ऊर्जामन्त्री (सरकार) ले कुलमान घिसिङलाई बर्खास्त गरे ।

कुलमानले विद्युत् प्राधिकरणमा सुधार गरे । लोडसेडिङ अन्त्य गरे, उज्यालो दिए । घाटाको प्राधिकरणलाई नाफामा लगे । देशको ढुकुटीमा करोडौं कर तिरे । राम्रो कामको छाप छाडे । आज नेपाली जनता ‘कुलमान आऊ, प्राधिकरण बचाऊ’ भनिरहेका छन् ।

इमानदारिता र लगनशीलताले सुधार असम्भव हुँदैन भन्ने कुरा कुलमानले सावित गरे । कुलमान वर्षकै ‘सर्वोत्कृष्ट कार्यकारी निर्देशकको उपाधि र गणतन्त्र दिवसमा विभूषणले सम्मानित हुन योग्य प्रशासक’ थिए । तर सरकारले खेदो खनेर उनलाई हटाउनुलाई नै पहिलो लक्ष्य बनायो । सरकारले धन्यवादसमेत दिएन । नेपाल सतीले सरापेको देश मानिन्छ । सतीले सरापेकैले अधिकारवालाहरूमा विवेक हुँदैन भन्ने मान्यता छ ।

सही पदमा गलत मानिस पर्‍यो भने संगठन ध्वस्त हुन्छ । सही मानिस पर्‍यो भने संगठन उचाइमा पुग्छ । प्राधिकरण नोक्सानमा जानु र लोडसेडिङ हुनुको कारण कुलमानभन्दा अगाडि प्राधिकरणले सही मानिस पाएको रहेनछ भन्ने प्रमाण हो । एरिसटोटलको भनाइ र ‘सतीको सराप’ को कुरा मिल्यो ।

Hope IVF
Sunrise bank

प्राधिकरणमा ‘नीति निर्माता’ वर्ग र ‘नीति लागू गर्ने’ वर्ग हुन्छन् । कुलमान ‘नीति लागू गर्ने’ कर्मचारी वर्गमा पर्दछन् । ‘नीति निर्माता’ वर्गलाई अख्तियारवाला भनिन्छ । यो वर्ग कर्मचारीका लागि शक्ति केन्द्र पनि हो । प्राधिकरणको अख्तियारवाला भनेको ‘सञ्चालक समिति’ र केही हदसम्म सरकार पनि हो । सतीको सराप नपरेमा अख्तियारवालामा विवेक हुन्छ । प्रतिभाको कदर हुन्छ । कामको निष्पक्ष मूल्यांकन हुन्छ । संगठनको शक्ति नै कर्मचारी ठान्छ । कर्मचारीप्रति खराब भावना, द्वेष, ईर्ष्या राख्दैन । नियुक्तिपछिको आजको कुलमानको ‘अख्तियारवाला’ मा विवेक नभएका लक्षण देखिए । ‘अख्तियारवाला समूह’ कुलमान घिसिङलाई बर्खास्ती गर्ने अभियानमा लागे । कुलमानको कर्तव्य उपभोक्ताबाट महसुल असुल गर्ने गराउने हो । तर ‘अख्तियारवाला’ लाई पचेन । कर्तव्यको पालनालाई अपराध ठानियो । नेपाल कानुनअनुसार विद्युत् महसुल असुल नगर्नू भन्ने र महसुल चुक्ता नगर्दै लाइन जडान गर्नू भन्ने दबाब दिनु भ्रष्टाचार हो र अख्तियारको दुरुपयोग थियो । प्राधिकरणमाथि हस्तक्षेप पनि हो ।

ऐनले प्राधिकरणलाई व्यापारिक उद्देश्यले चल्नुपर्छ भनेको छ । विद्युत्को महसुल असुल नगर्ने हो भने प्राधिकरण चल्नै सक्दैन । महसुल असुल गर्ने कारबाही चलाउनु अपराध थिएन । तर विद्युत् महसुल असुल गरेबापत प्रधानमन्त्री र मन्त्रीद्वारा सार्वजनिक कार्यक्रममै कुलमानको अपमान गरियो । बिनाकारण कुलमानसँग स्पष्टीकरण मागियो । कुलमानले स्पष्टीकरण दिए । कुलमानप्रति सरकार पूर्वाग्रही र बदनियतपूर्ण थियो । स्पष्टीकरण हेरिएन, बर्खास्त गरियो ।

कुलमानको बर्खास्तीको क्रमलाई मिडियाले सार्वजनिक गर्दै गएका थिए । प्राधिकरण स्वशासित कानुनी संरचना भएकाले यसको सञ्चालन सरकारले गर्ने होइन । समितिले गर्छ । प्राधिकरणको अवधारणा बुझ्न बेलायत र अमेरिकाको प्राधिकरण बुझ्नुपर्छ । प्राधिकरण वा कर्पोरेसन गठन गर्नुको मतलब सरकारी हस्तक्षेप र नियन्त्रण मुक्त बनाउनु हो । नेपालमा मन्त्रालय र विभागहरू हुन्थे । त्यसबाट काम द्रुतगतिमा हुन सकेन । त्यसैले प्राधिकरण र कर्पोरेसन गठन गर्न थालियो । दोस्रो विश्वयुद्धपछि युरोपमा कम्युनिजमको प्रभाव बढ्दै गयो । कम्युनिजमले प्राधिकरण वा कर्पोरेसन गठन गर्दैन । कम्युनिजमले सधैं सबै निकाय राष्ट्रियकरण गरेर आफ्नै नियन्त्रणमा राख्न चाहन्छ । तर प्रजातन्त्रले निजीकरण गर्न चाहन्छ । कम्युनिजम विचारधारा र प्रजातान्त्रिक विचारधाराको ‘कम्प्रोमाइज’ भयो । खुला बजार अर्थतन्त्र रुचाउनेहरूले राष्ट्रियकरणको विरोध गरे । त्यसको सट्टा प्राधिकरण र कर्पोरेसन विकल्प दिए । त्यहीँबाट प्राधिकरण जस्ता स्वशासित संस्थाहरू गठन सुरु भयो । बेलायतको ग्यास अथोरिटी, लन्डन ट्रान्सपोर्ट, बीबीसी आदिलाई हेर्न सकिन्छ । अमेरिकामा चाहिँ कर्पोरेसन र प्राधिकरणहरू गठन हुन थाले । ‘टेनेसी भ्याली अथोरिटी’ अमेरिकामा प्राधिकरण वा कर्पोरेसनको नमुना मानिन्छ । यी गठनको उद्देश्य सरकारी हस्तक्षेप मुक्त गरेर वित्तीय तथा नीतिगत स्वायत्तता प्रदान गर्नका लागि हो । सरकारी निर्णय प्रक्रियामा ‘रेडटेपिजम’ हुन्छ । निर्णय प्रक्रियामा ढिलाइ हुन्छ भनेरै कर्पोरेसन र प्राधिकरणहरू गठन गरिन्छ ।

कुलमानको बर्खास्तीले नेपाली उखान ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ लाई सम्झाउँछ । उनको बर्खास्ती सरकारको पहुँच पुग्ने संस्थानहरूमा भइराखेको नियुक्ति र कायम नेतृत्वलाई चेतावनी हो । नेपाल बजारमुखी अर्थतन्त्र हो । बजारमुखी अर्थतन्त्रमा वस्तु उत्पादन र व्यापार सरकारले गर्दैन । सरकारको भूमिका नियामक निकायमा सीमित रहन्छ । प्राधिकरण गठन गरेर आफ्नो अधिकारहरू ती निकायमार्फत प्रयोग गराइन्छ । प्राधिकरण तथा कर्पोरेसन आदि गठनको उद्देश्य कुलमान जस्ता ट्यालेन्ट व्यक्ति खोजीखोजी नियुक्ति गरेर सञ्चालन गर्ने हो । आज अमेरिकालगायत पश्चिमी देशहरूमा ‘ल्यासेस फेयर’ अर्थतन्त्र विकास हुनुको कारण नै प्राधिकरण तथा कर्पोरेसनहरू गठन गर्दै सरकारी हस्तक्षेप मुक्त गरेर व्यापारिक उद्देश्यले प्रतिभाशाली कार्यकारी निर्देशकलाई सञ्चालन गर्न अधिकार दिनाले हो ।

पूर्ण प्रजातन्त्र र खुला बजार अर्थतन्त्रको उदाहरण अमेरिका हो । २५० वर्षमा अमेरिका पृथ्वीबाट चन्द्रमामा पुग्यो, अब मंगल ग्रहमा पुग्दै छ । तर यही वातावरण र यस्तै नेता रहने हो भने नेपालको भविष्य अन्योलमा पर्छ । अमेरिका चन्द्रमामा पुग्नुको कारण मानिसको प्रतिभा (ट्यालेन्ट) को कदर गर्नाले हो । आफ्नो नागरिक मात्र होइन, देश बाहिरका पनि प्रतिभाशालीलाई बोलाएर, फकाएर, ग्रिन कार्ड दिएर, नागरिक बनाएर, विश्वास गरेर कामको जिम्मामा स्वतन्त्र छाडेर आज अमेरिका बनेको हो ।

देखिएको र भोगिएको कुरा हो– ५०, ६०, ७० को दशकताका मध्यपूर्वमा ‘अमेरिकन युनिभर्सिटी अफ बेरुत’ थियो । धेरै नेपालीहरू छात्रवृत्तिमा पढ्न गएका थिए । अमेरिकाले प्रतिभाशाली विद्यार्थी चिन्यो । प्रतिभाशाली नेपाली विद्यार्थीमध्ये कतिलाई त्यहीँबाट र कतिलाई नेपाल फर्केपछि ग्रिनकार्ड, टिकेट, अमेरिकाको नागरिकता दिएर लगेको धेरैलाई थाहा छ । अर्थतन्त्रविद्, योजनाविद्, फर्मासिस्ट, लेखा, चिकित्सक, शिक्षक, कृषिलगायतका विभिन विषयका प्रतिभाशालीलाई लगियो र उनीहरूलाई सम्मानपूर्वक काम गर्ने मौका दिइयो । उनीहरूलाई प्रोत्साहन दिइयो । प्रतिभाको कदर गरियो । अमेरिका धनी र विश्वकै शक्ति राष्ट्र बन्नुको कारण नै विश्वभरका प्रतिभाशाली व्यक्तिलाई भित्र्याएकाले हो । तर हामीकहाँ हेरौं । प्रतिभाशाली कुलमानले पूरै जीवन प्राधिकरणको हितका लागि बिताए । नोक्सानमा गएको प्राधिकरणलाई नाफामा ल्याए । तर सरकारले उनैलाई नभएको आरोप लगाएर कर्मचारीतन्त्रमा सबभन्दा कडा सजाय बर्खास्त गर्‍यो ।

अमेरिका प्रतिभा चिन्ने देश हो । अमेरिकालाई चन्द्रमामा पुर्‍याउन शक्तिशाली रकेट वैज्ञानिकको आवश्यकता थियो । ती वैज्ञानिक जर्मनीबाट अमेरिका आएका भोन ब्राउन थिए । प्रतिभा चिनेरै अमेरिकाले भित्र्याएको थियो । कूटनीतिक क्षेत्रका अर्का विश्व परिचित व्यक्ति ‘हेनरी किसिन्जर’ थिए । उनी जर्मन थिए । उनको प्रतिभा देखेर अमेरिकाले भित्र्यायो । उनैले गर्दा चीनसँग अमेरिकाको द्वैत्य सम्बन्ध रह्यो । त्यतिबेला अमेरिकाको सोभियत संघसँग सैन्य शक्तिमा कडा प्रतिस्पर्धा थियो । किसिन्जरले गर्दा चीनलाई अमेरिकाको नजिक ल्यायो । सोभियत संघ एक्लियो र अन्ततोगत्वा सोभियत संघ टुक्रिन पुग्यो । तर नेपालले प्रतिभा चिन्दैन । नेपालका केही प्रतिभाशाली व्यक्तिलाई अमेरिकाले चिनेर भित्र्याएको एउटा उदाहरण हेरौं । वि.सं. २०२० को दशकमा कुनै एक संस्थानमा काम गर्ने नेपाली अर्थशास्त्र र माइक्रो म्यानेजमेन्ट अध्ययन गर्न अमेरिका गएका थिए । अध्ययन गरेर नेपाल फिर्ता आए । अमेरिकाले उनको प्रतिभा पढ्दै गर्दा चिनेको थियो । उनलाई अमेरिकाले बोलायो । तुरुन्तै नागरिकता दियो । उनले अमेरिकालाई यति योगदान दिए कि १९७० को दशकमा पेट्रो डलरले गर्दा मध्यपूर्वका देशहरूलाई म्यानेज गर्न गाह्रो पर्‍यो । ती नेपाली अमेरिकी नागरिकको हैसियतले साउदी अरेबियामा विज्ञका रूपमा गएर बन्दोबस्त गरिदिए । २०४७ सालको संविधान लेख्ने बेलामा नेपाल आएर संविधान मस्यौदा आयोगमा उनले अमेरिकी नागरिकता नत्यागीकन आजको एनआरएन अवधारणाको नागरिकता दिने हो भने नेपाल फर्केर आफ्नो विज्ञताको योगदान दिने प्रस्ताव गरे तर सुनुवाइ भएन । फिर्ता गए ।

भर्खर त्रिविको उपकुलपति केशरजंग बरालले राजीनामा दिए । विश्वविद्यालय प्राज्ञिक व्यक्तिहरूले सञ्चालन गर्ने संस्था हो । हाम्रोमा शैक्षिक योग्यता जतिसुकै भएका व्यक्ति पनि कुलपति बन्न सक्छन् । विश्वविद्यालय राजनीति गर्ने ठाउँ होइन । त्यहाँ त शिक्षा क्षेत्रको प्रतिभाशाली उपकुलपति बनाइनुपर्ने हो । तर हालैको उपकुलपतिको राजीनामाले नेताहरूले शिक्षण संस्थामा समेत प्रतिभा चिन्दैनन् भन्ने प्रमाणित गर्‍यो ।

कुलमान बर्खास्त काण्डले योग्य व्यक्ति कार्यकारी निर्देशक नबन्ने भए । पदमा नियुक्ति गर्दा नै सरकारको ‘बार्गेन’ चल्ने भयो । ‘कुलमान’ बन्ने भए हामी नियुक्ति गर्दैनौं, नबन्ने भए मात्रै नियुक्ति गर्छौं भनेर अलिखित सर्त हुने भयो । प्रतियोगितामा उत्कृष्ट भएर योग्य र सक्षम व्यक्तिले नै नियुक्ति पाए पनि उसले कुलमान सम्झिने वातावरण सिर्जना गरियो । एरिसटोटलले भनेको कुरा नेपालमा लागू हुन नदिन र सतीको सराप हुँदैन भन्ने सावित गर्न सरकारले कुलमानसँग माफी मागेर पुनर्बहाली गराउनुपर्छ ।

अन्त्यमा, लेखकले पटकपटक भन्दै आएको कुरा हो, सरकारको गठन असंवैधानिक छ । असंवैधानिक सरकारबाट संविधान उल्लंघन हुनु स्वाभाविक हो । कुलमानपछि त्रिविको उपकुलपतिलाई ‘बलिको बोको’ बनाइयो । अब नेपाल राष्ट्र बैंकको गभर्नर भागबन्डामा नियुक्ति हुँदै छ । यसर्थ, प्रतिभा नचिन्ने नेता खोज्नुपर्‍यो भने नेपालमा पाइने भयो ।

जनता निराश छन् । संविधान वा गणतन्त्रको कारणले होइन, सरकारको कारणले । राजावादीको हालको जुलुस र घटना पनि संविधान र गणतन्त्रको कारणले होइन । सरकारको अक्षमताको कारणले हो । संसद् विघटन गरेर आमचुनावमा नजानाले नेपाली “पेनिवाइज पाउन्ड फुलिस” बन्नुपरेको छ । चुनाव भएमा ‘सतीको सराप’ नलागेको युवा नेता पाउन सकिन्छ । त्यस्तो नेता सिंहदरबारमा पुग्ने हो भने राम्रो दिन आउँछ । सराप मेटाउने एउटै प्रभावकारी उपाय आमचुनाव हो । ३ करोड नेपालीको ध्यान त्यता जानुपर्‍यो । इमानदार र भिजन भएका युवा नेता नै नभएका होइनन् । केवल अवसर नपाएका हुन् । आमचुनावले त्यस्ता नेतालाई अवसर दिन्छ । आशावादी बनौं, निराश नहोऔं ।

छुटाउनुभयो कि ?

TOP