बाजुरा, वैशाख २२ – किशोरीहरूको अधिकार र उद्यमशिलता प्रवर्द्धनका लागि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। गोष्ठी प्लान ईन्टरनेशनल नेपाल र पीसविन नेपालको सहकार्यमा आयोजना गरिएको हो ।
कार्यक्रम मिना पराजुली क्षेत्रीय कार्यक्रम व्यवस्थापकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगर प्रमुख अमर बहादुर खड्का, बुढीगंगा नगर प्रमुख राम बहादुर बाँनिया, त्रिवेणी नगर प्रमुख कर्ण बहादुर थापा, गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी, सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरू, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, प्लान ईन्टरनेशनल, पीसविन नेपाल, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रमुख अमर बहादुर खड्काले किशोरीहरूको सशक्तीकरणमा केन्द्रित परियोजनाहरू प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले किशोरी लक्षित कार्यक्रमहरू नगरपालिका स्तरमा प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
किशोरीहरूको सीप विकास तथा स्वरोजगारमुखी कार्यक्रमलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न सुझाव दिनुभयो। त्रिवेणी नगर प्रमुख कर्ण बहादुर थापाले विद्यालय र समुदायमा लैङ्गिक समानताको शिक्षा प्रभावकारी रूपमा फैलाउनु पर्नेमा जोड दिनुभयो। गौमुल गाउँपालिका अध्यक्ष हरी बहादुर रोकायाले किशोरीमैत्री संरचनात्मक व्यवस्था आवश्यक रहेको सुझाव दिनुभयो।
प्रमुख जिल्ला अधिकारीसहितका अन्य सहभागीहरूले पनि परियोजनाले स्थायी असर पार्ने खालका गतिविधिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए। गोष्ठीमा शिक्षा, स्वास्थ्य, सीप विकास, लैङ्गिक समानता, सुरक्षा तथा सामाजिक सहभागिता सम्बन्धी विषयमा छलफल गरिएको थियो।
गोष्ठीबाट सहभागी पालिकाहरूबीच आपसी सहकार्य, अनुभव आदानप्रदान र स्थानीय तहको योजनामा किशोरीमैत्री नीतिहरू समावेश गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ।