जिल्ला अस्पताल बाजुरामा बेथिति, आर्थिक अनियमिता र उपचारमा लापरबाही उजागर

बाजुरा, बैशाख २२ – बाजुराको जिल्ला अस्पतालमा पछिल्लो समय विभिन्न बेथिति, आर्थिक अनियमिता तथा विरामीको उपचारमा लापरबाहीको गम्भीर समस्या देखिएको छ। सेवा लिन आएका सर्वसाधारण नागरिक उपचार नपाएर फर्किनु परेको, औषधि अभाव तथा डाक्टरको उपस्थितिमा लापरबाहीजस्ता गुनासो बढ्दो छ।

स्थानीयबासीका अनुसार अस्पतालमा उपचारका लागि गए पनि समयमै स्वास्थ्यकर्मी उपस्थित नहुने, चेकजाँच ढिलो हुने, आवश्यक औषधिहरू बाहिरबाट किन्नुपर्ने अवस्थाले उनीहरू मारमा परेका छन्। “सरकारी अस्पताल भनेपछि निःशुल्क उपचार पाइन्छ भन्ने हाम्रो विश्वास थियो, तर यहाँ त पैसा तिरे पनि सेवा पाउन गाह्रो छ”, एक बिरामीका आफन्तले गुनासो गरे।

अस्पतालमा आउने बजेटको पारदर्शिता अभाव रहेको र उपकरण तथा सेवा विस्तारका नाममा खर्च भएको रकमको प्रभाव प्रत्यक्ष रूपमा नदेखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। जिल्ला अस्पतालका केही स्रोतका अनुसार आन्तरिक लेखा परीक्षण नहुँदा बजेटको प्रयोग अनियमित ढंगले हुँदै आएको छ।

अझै दुःखद पक्ष के भने, गम्भीर विरामीलाईसमेत अस्पतालमा पर्याप्त उपचार नदिइकन धनगढी वा नेपालगञ्ज रिफर गर्ने गरिएको छ। डाक्टर तथा नर्सहरूको कार्यशैलीप्रति पनि प्रश्न उठ्न थालेको छ।

स्थानीय सामाजिक अभियन्ता तथा पत्रकारहरूले यस विषयमा छानबिन गर्न माग गरेका छन्। “यो सार्वजनिक स्वास्थ्यसँग जोडिएको गम्भीर विषय हो। तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छ”, अभियन्ता लक्ष्मण थापाले बताए।

हालसम्म जिल्ला स्वास्थ्य कार्यालय वा अन्य सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आएको छैन।

छुटाउनुभयो कि ?

TOP