बडिमालिका वन महासंघको प्रथम परिषद् सम्पन्न

बाजुरा बैशाख २२ — बडिमालिका नगरपालिकामा गठन भएको बडिमालिका वन महासंघको प्रथम परिषद् कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वन संरक्षण, दिगो उपयोग, र संस्थागत विकासका विषयमा विविध पक्षबाट गहन छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अमरबहादुर खड्का रहनु भएको थियो भने नगर उपप्रमुख नन्दा थापा विशेष अतिथिका रूपमा सहभागी हुनु भयो। साथै वडा नं. ७ का अध्यक्ष एवं नगर प्रवक्ता धर्मराज पाध्याय, वडा नं. ६ का अध्यक्ष कृष्ण बहादुर खड्का, जिल्ला नव उपभोक्ता महासंघकी अध्यक्ष सीता वराल, कल्पना महत लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।

परिषद्मा बडिमालिका नगर क्षेत्रभित्रका सामुदायिक वन उपभोक्ता समूहहरूका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वन संरक्षण तथा दिगो व्यवस्थापनका पक्षमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

परिषद्बाट महासंघको आगामी कार्यदिशा, संरचना सुदृढीकरण, तथा समुदाय–वन सम्बन्ध सुदृढ बनाउन आवश्यक रणनीतिहरू तय गरिने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

TOP